आज राष्ट्रिय सभाको बैठक पनि बस्दै
काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ’मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची तय गरिएको जनाइएको छ ।
यसअघि आजै बिहान ११ बजेबाट सुरु हुने गरी प्रतिनिधि सभाको बैठक पनि आह्वान गरिएको छ ।