बागमती प्रदेश मन्त्रिपरिषद्ः समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट

तु खबर संवाददाता
२०८१ जेष्ठ २३,बुधबार १०:१८
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट गरेको छ । बैठकले प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका एक/एक वडामा कार्यक्रम कार्यान्वयन गर्ने गरी वडाहरू छनौट गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार, बैठकले मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–७, चितवनको माडी नगरपालिका वडा नम्बर–९, सिन्धुलीको ध्याङलेख गाउँपालिका वडा नम्बर–१, भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर–४, काठमाडौँको शंकरापुर नगरपालिका वडा नम्बर–२, ललितपुरको केन्जोम्सोम गाउँपालिका वडा नम्बर– २ मा नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यस्तै, बैठकले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर–७, सिनधुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर–३, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–३, रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर–५, धादिङ रुविभ्याली गाउँपालिका वडा नम्बर–५, काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–१ र दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर–१ मा नमुना वडा समाजवादी कार्यक्रम संचालनका लागि छनौट गरिएको छ ।

सो कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र वडाले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसारको कार्यक्रम तय गरी सम्झौता गर्नुपर्ने उनले बताए । सम्झौता पश्चात् प्रदेश सरकार र सम्बन्धित स्थानीय तहको सहलगानीमा कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । प्रदेश सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक करोड रुपैयाँ बजेट मार्फत कार्यक्रम सञ्चालन गरिने उनले बताए । कुल एक करोड रुपैयाँ लागत मध्ये प्रदेश सरकारले ९० लाख रुपैयाँ र स्थानीय तहले १० लाख रुपैयाँ लगानी गर्नुपर्ने उनले बताए ।

प्रदेश सरकारले गत मङ्सिर १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको थियो ।