‘कम्युनिष्ट पार्टीहरूमा दक्षिणपन्थी अवसरवाद हाबी भयो’
मकवानपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले पछिल्लो समय कम्युनिष्ट पार्टीहरूमा दक्षिणपन्थी अवसरवाद हाबी भएको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको शनिवारबाट सुरु भएको नगर अधिवेशनको सम्बोधन गर्दै नेता खनालले यस्तो टिप्पणी गरेका हुन् ।
नेता खनालले दक्षिणपन्थी अवसरवाद कै कारण दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा दुई पटक विघटन गरेको आरोप लगाए ।
उनले दक्षिणपन्थी अवसरवाद र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि एमालेले विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन भएको बताउँदै अब समाजवादको एजेन्डा विना एमाले टिक्न नसक्ने जिकिर गरे ।
नेपाललाई अमेरिकाले चीनविरुद्ध प्रयोग गर्न खोजेको भन्दै नेता खनालले चीनलाई ध्वस्त पार्नकै लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको बताए । एसपीपीमार्फत् नेपाललाई सैनिक अड्डा बनाउन अमेरिकी शक्तिहरु अझै तल्लिन रहेको उनको भनाई छ ।
सो क्रममा जिल्लाका पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान समेत गरिएको थियो ।