मकवानपुरमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०,बुधबार ०८:५५

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राहीको लागि आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर पालिकाको केन्द्रमा संचालन गर्ने भएको छ ।

प्रशासनले जिल्लामा रहेका १० मध्ये ९ वटा पालिकासँगको समन्वयमा उक्त पालिकाको केन्द्रमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर संचालन गर्न लागेको हो ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षा भत्ताको लाभग्राहीहरुले भने जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गराउन सक्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धा र अपांगता भएकाहरु भीड लाग्न थालेपछि प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचयपत्रको विवरण दर्ता गर्ने टोली खटाउने निर्णय गरेको हो ।

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनेको भीड बढेको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन विशेषतः ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुले सास्ती पाएका थिए । शारीरिक रुपमा अशक्त बनिसकेका ज्येष्ठ नागरिकले परिचयपत्रको लागि विवरण दर्ता गराउन दिनभर लाइन बस्नुपर्दा कष्ट भोगेका थिए ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनको लागि जिल्लाका दुर्गम क्षेत्रका वृद्धवृद्धाहरु र अपांगता भएका व्यक्तिहरुले कार्यालय आउँदा निकै कष्ट ब्यहोर्नु परेकोले उक्त विवरण दर्ताको लागि पालिकाको केन्द्रमा नै टोली पठाउन लागेको प्रजिअ चिलुवालले बताए ।

उनका अनुसार, राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि २ वटा टोली खटाइएको छ । पहिलो टोलीले आज जेठ ३० गतेदेखि असार १ गतेसम्म राक्सिराङ गाउँपालिकामा, असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा, असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा विवरण दर्ता गर्नेछन् ।

त्यस्तै, दोस्रो टोलीले जेठ ३१ गतेदेखि असार २ गतेसम्म बागमती गाउँपालिकामा, असार ४ गतेदेखि ७ गतेसम्म बकैया गाउँपालिकामा, असार ९ गतेदेखि १२ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा, असार १४ गतेदेखि १७ गतेसम्म भीमफेदि गाउँपलिकामा, असार १९ गतेदेखि २२ गतेसम्म मनहरी गाउँपालिकामा विवरण दर्ता गर्नेछन् ।