मनहरीको चालु वर्षको ११ महिनाः मुख्य–मुख्य कामहरु सार्वजनिक

तु खबर संवाददाता
२०८१ असार १,शुक्रबार १६:३५

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ११ महिनाको अवधिमा सम्पन्न गरेका मुख्य–मुख्य कामहरु सार्वजनिक गरेको छ ।

शुक्रबार गाउँपालिका सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै चालु वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलगायतका क्षेत्रमा गरेका मुख्य कामहरुबारे जानकारी गराइएको हो । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलगायतको उपस्थितिमा कार्य प्रगती विवरण प्रस्तुत गरिएको हो ।

सो अवधिमा गाउँपालिकाले पुर्वाधारतर्फ करिब ५ किलोमिटर स्लाब ढलान, ६ किलोमिटर नयाँ ट्रयाक निर्माण र ३ किलोमिटर रिटेनीङ वाल निर्माण गरेको छ भने १ किलोमिटर नाला निर्माण र २४ किलोमिटर भन्दा बढी खानेपानीको पाइप विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।

पालिकाले आफ्नै आन्तरिक स्रोतबाट गत आर्थिक वर्ष २०७७/०७८ मा साविक हाँडीखोला गाविसको १,२.३ र ४ नं वडामा निर्माण थालनी गरेको ५ वटा पक्की पुलमध्ये सो अवधिमा ३ वटा सम्पन्न गरेको छ । ट्वाङ्ग्रा खोला पुल, मसिने पक्कि पुल र च्यापल पक्की पुल निर्माण भई केही दिनअघि उद्घाटन गरिएको थियो । बाँकी २ वटामध्ये हाँडीखोला पक्की पुल ६६ प्रतिशत र ठाडोखोला पक्की पुलको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए ।

आंशिक अपाङ्गता (पहेँलो कार्ड) भएकालाईसमेत गाउँपालिकाले आफ्नै आन्तरिक श्रोतबाट निर्वाह भत्ता उपलब्ध गराउन थालेको छ । यसलाई गाउँपालिकाले महत्वपूर्ण कामको रुपमा औंल्याएको छ । गाउँपालिका अध्यक्ष कालाखेतीले निर्वाचित भएर आएदेखि नै आफूले प्राप्त गर्ने सेवा सुविधाको रकम र भत्ताबाट असहाय र विपन्न वर्गलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइएको जनाइएको छ ।

अध्यक्ष कालाखेतीले आफ्नो कार्यकाल अवधिभर ९ वटा वडामा ९ जना घरवार बिहिन विपन्न परिवारलाई घर बनाइदिने अभियान यस वर्षबाट सुरु गरेको जानकारी दिए । चालु वर्षमा मनहरी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको प्रक्रिया थाल्ने क्रममा मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बनको ० दशमलव २ हेक्टर क्षेत्रफलको जग्गा प्रयोगका लागि स्वीकृती पाएको छ । आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरी ठेक्का प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष कालाखेतीले स्थानीयको आवश्यकताको आधारमा आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए । बजेट निर्माणपूर्व आफूहरुले विभिन्न चरणमा सबै क्षेत्रका विज्ञहरुको सुझाव संकलन गरिरहेको पनि उनले सुनाए ।

गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँमा एक घर एक उद्यमी बनाउने उद्देश्यले कार्यक्रमहरु कार्यान्वयन भइरहेको बताइन् । स्थानीयको आवश्यकता र मागअनुसार विभिन्न उद्यम गर्नको लागि आवश्यक तालिम प्रदान गर्नुका साथै उनीहरुलाई उद्यमी बन्नको लागि प्रोत्साहन दिइएको पुलामीको भनाई छ ।