सम्पत्ति हडप्न वडा कार्यालयबाट नक्कली काजगात तयार

तु खबर संवाददाता
२०८१ असार १,शुक्रबार १८:०५

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ निवासी ४६ वर्षका पूर्णबहादुर ब्लोन आफ्नी आमाको मृत्यु भएको भन्दै २०८० मंसिरमा मृत्यु दर्ता बनाउन वडा कार्यालय पुग्छन् ।

पूर्णबहादुरले आफु र उमादेवी गुरुङ आमा छोरा भएको र उमादेवीको २०७७ सालमा मृत्यु भएको भन्दै स्थानीय ५ जनालाई साक्षी राखेर सर्जमिन मुचुल्का तयार पार्छन् । सर्जमिन मुचुल्का र अन्य झुटो विवरण पेश गर्दै पूर्णबहादुरले मृतक उमादेवीको मृत्यु दर्ता गरिदिन निवेदन पेश गर्छन् । वडा कार्यालयले २०८० मंसिर १८ गते उमादेवी गुरुङको मृत्यु दर्ता बनाउँछ ।

मृत्यु दर्ताकै आधारमा २०८० मंसिरमै वडा कार्यालयले उमादेवी र पूर्णबहादुर आमा–छोरा हुन् भन्दै नाता प्रमाणितसमेत गरिदिन्छ ।

मृतक उमादेवीको नाममा ललितपुरमा रहेको ५ रोपनी जग्गा र चितवनमा रहेको केही रोपनी जग्गा आफ्नो नाममा नामसारी गर्नुपर्ने भएको र त्यसका लागि वडाबाट आवश्यक काजगात बनाइदिनुस् भन्दै पूर्णबहादुर पुनः ४ नम्वर वडा कार्यालय बकैया पुग्छन् । उनले पेश गरेको निवेदनको आधारमा वडा कार्यालयले सिफारिसको कागजात तयार पारिदिन्छ ।

सम्पत्ति नामसारीको प्रक्रिया अघि बढाउँदै गर्दा घटना बाहिरिन्छ । उनले पेश गरेको झुटो विवरणको आधारमा वडा कार्यालयबाट नक्कली काजगात तयार भएको रहस्य बाहिरिएपछि वडा अध्यक्ष राजन दंगालले झुटो विवरण पेश गर्ने पूर्णबहादुरमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्र लेख्छन् ।

वडा अध्यक्षले दिएको निवेदनका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्न ४६ वर्षका पूर्णबहादुर ब्लोन ५६ वर्षका रामबहादुर न्यासुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले पुष्टि गरे ।

प्रहरीले जेठ २८ गते पूर्णबहादुरलाई पक्राउ गर्यो र उनको बयानका आधारमा सर्जमिन मुचुल्कामा साक्षी बस्ने ५६ वर्षका रामबहादुर न्यासुरसमेत पक्राउ परे । पूर्णबहादुरले आफुलाई  वडा कार्यालयमा झुटो विवरण पेश गरी नक्कली काजगात बनाउन रामबहादुरले साथ दिएको भन्दै बयान दिएपछि रामबहादुर फन्दामा परेका हुन् ।

पक्राउ परेका उनीहरुमाथि लिखत सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्पत्ति हडप्न गिरोह नै परिचालित

मृतक उमादेवी गुरुङ स्याङ्जा निवासी भएको र जिल्ला प्रशासन कार्यालय चितवनबाट उनको नागरिकता जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको नाममा चितवन र ललितपुर जिल्लामा करोडौँ मूल्य पर्ने जग्गा रहेको र त्यसलाई हडप्ने उद्देश्यले झुटो विवरण पेश गरी नक्कली कागजात तयार पार्न गिरोह नै परिचालित भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक उमादेवीको २०७४ सालमा नै मृत्यु भएको भन्दै चितवनस्थित एक वडा कार्यालयबाट मृत्यु दर्ता भइसकेको छ । त्यस्तै मकवानपुरकै थाहा नगरपालिकाबाट पनि यसअघि उमादेवीको मृत्यु दर्ताको प्रयास भएको घटना प्रहरीको अभिलेखमा छ । उमादेवीसँग नाता कायम गरी उनको सम्पत्ति हडप्न गिरोह नै परिचालित भएकोे हुनसक्ने प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार उमादेवीको केही वर्षअघि काठमाडौँ कारागारमा मृत्यु भएको हो । उनको परिवार वा आफन्तबारे खुल्न बाँकी रहेको छ । प्रहरीले समग्र घटनामाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

वडा अध्यक्षकै मिलेमतोमा नक्कली कागजात तयार पारिएको आरोप

वडा कार्यालयबाट नक्कली काजगात तयार भएको विषय बाहिरिएपछि स्थानीयहरुले सो घटनामा वडा अध्यक्ष राजन दंगालको समेत मिलेमतो रहेको आरोप लगाएका छन् ।
स्रोतका अनुसार गिरोहकै इसारामा वडा अध्यक्षले नक्कली काजगात तयार पारिदिएका हुन् ।

‘वडा अध्यक्षज्यूलाई को व्यत्तिः आफ्नो वडाको हो ?, को होइन ? भन्ने विषयमा थाहा हुन्छ । यदि थाहा नभएपनि केही समय धैर्यता गरेर बुझेर मात्रै कागजपत्र तयार पार्नुपथ्र्यो । यस घटनामा वडा अध्यक्षज्यूकै संलग्नता छ । उहाँको मिलेमतो नभई कागजात बन्दैन । पछि आफु पनि फस्ने संभावना देखेर उहाँले प्रहरीमा उजुरी दिँदै सेफल्याण्डिङ गर्न खोज्नुभएको हो ।’ एक जना स्थानीयले भने ।

यस विषयमा वडा अध्यक्ष दंगालले भने उक्त घटनामा आफ्नो मिलेमतो नरहेको र आफुमाथिको आरोप झुटो भएको बताएका छन् । उनले झुटो विवरण पेश गर्ने माथि कानून बमोजिम कारबाहीको लागि प्रहरीमा उजुरी दिएकोसमेत बताए ।

उहाँहरुले पेश गर्नुभएको कागजात पर्याप्त थिएन ।, कागजात हेर्दा उहाँहरु आमा छोरा हो भन्ने प्रमाण नभेटिएपछि वडा कार्यालयले सर्जमिन मुचुल्काको आधारमा नाता प्रमाणित गरिदिएको हो ।

‘उहाँहरुले झुटो विवरण पेश गरेको पुष्टि हुनासाथ कारबाहीको लागि प्रहरीलाई उजुरी दिएको छु, कानून बमोजिम दोषिमाथि कारबाही हुनेछ भन्ने विश्वास छ ।’ उनले भने ।