हेटौँडाको साहित्यिक उन्नयन
अन्यथा अर्थ नलागोस्, यहाँ हेटौँडा भन्नाले मकवानपुर जिल्ला बुझिन्छ । अनि यहाँ सन्दर्भ केवल साहित्यको मात्र हुनेछ । हेटौँडेली साहित्य भन्नाले मकवानपुरे साहित्य हो भन्ने अर्थ यहाँ लगाइएको छ । पहिले, छतिवनलाई ग्रामीण साहित्यको केन्द्र भनिन्थ्यो । अहिले झरना साहित्यिक परिवार मकवानपुर भइसकेको छ । हर्नामाडीतिर पनि साहित्यिक गतिविधि केन्द्रित हुन्थ्यो तर अचेल हर्नामाडी भौगोलिक रुपमै वा औपचारिक रुपमै हेटौँडामा गाभिइसकिएको छ । छतिवन र अन्य ग्रामीण क्षेत्रमा पहिले सक्रिय रहेका साहित्यिक संस्थाहरुको मुख्य गतिविधि अब हेटौँडा केन्द्रित नै हुने गरेको छ । हुन त दामन–पालुङ र मनहरीको पनि सक्रियता कम भइसकेको भन्न खोजिएको होइन । तर, यी केन्द्र वा उपकेन्द्रहरुको पनि साहित्यिक नेतृत्व, संस्थाको पदाधिकारी होइन प्रवृत्तिको दृष्टिकोणले, हेटौँडाले नै गरिरहेको छ ।
आजभोलि, हेटौँडाको साहित्यिक परिवेश यस्तो छ, जहाँ सबै मानिस आवतजावत गर्न चाहन्छन् । यहाँ मानिसको अर्थ साहित्यकार मात्र होइन । साहित्यानुरागी, साहित्यप्रति सकारात्मक सोच भएका तथा साहित्यकारलाई सम्मान गर्नेहरुको दृष्टिकोणमा साहित्य सामाजिक सम्पत्ति भइसकेको छ । उद्योगी, व्यावसायी, शिक्षक, प्राध्यापक, श्रमिक, मालिक आदि कुन क्षेत्रका मानिस यहाँको साहित्यसित जोडिएका छैनन् । यसैले सयौँ पुरस्कार तथा सम्मानहरु स्थापित हुन पुगेका छन् । यी पुरस्कार तथा सम्मानहरुले हेटौँडाको साहित्यिक वातावरणलाई सकारात्मक मलजल गरेको छ । व्यक्तिहरुको आर्थिक लगानी वृद्धि गरेको छ । साहित्यकारहरुको संख्यामा वृद्धि गरेको छ । साहित्यिक गुणवत्तामा वृद्धि भएको छ । साहित्यिक संस्थाहरु बढेका छन् । विधागत साहित्यिक संस्थाहरुको निर्माण भएको पाइएको छ । विधागत कार्यक्रमहरु भइरहेका हुन्छन् । हेटौँडामा महिनामा कम्तीमा चार ओटा साहित्यिक कार्यक्रम हुनु स्वाभाविक हो । कुनै महिना अझ बढी पनि भएको देखिएको छ ।
कार्यक्रम त एउटा पक्ष हो, हेटौँडामा साहित्यिक माहोल छ । बाहिरबाट हेर्दा गज्जबको माहोल र चेतना देखिन्छ । हुन त मैले पनि १२ वर्ष त्यहाँको साहित्यिक फाँटलाई राम्ररी नियाल्ने मौका पाएकै हुँ । माहोलले साहित्यिक उन्नयनमा सहयोग पु¥याएको छ । यस माहोलले साहित्यिक क्षमतामा वृद्धि गरेको छ जसको परिणामस्वरुप कृतिहरुमा देखिन्छ । मकवानपुरले उम्दा कृतिहरु निकालिरहेका छन् । कृतिहरुको गुणवत्ता उच्च कोटिको हुन्छ तर अपेक्षित चर्चा भने हुन सकेको पाइँदैन । बलियो प्रकाशन संस्थाको आवश्यकता रहेको हेटौँडेली साहित्यलाई उचित मूल्यांकन गर्ने बलियो संयन्त्रको पनि आवश्यकता रहेको छ । पुरस्कारहरुले एक किसिमको मूल्यांकन र प्रोत्साहन नगरेका होइनन् तर पनि कृतिभित्रको गुदीको उचित मूल्यांकन गर्ने दरिलो संयन्त्र आवश्यक छ ।
हेटौँडाले साहित्यको क्षेत्रमा धेरै थोक गरेको छ, गरिरहेको छ । गोष्ठीको शृंखलामा त नेपालमा सबैभन्दा बढी नै भएको हुनुपर्छ । गोष्ठीहरुले प्रतिभा उत्पादनमा बढी योगदान दिने हुन्छ र एकल गोष्ठीहरुले प्रतिभाको मूल्यांकनको मार्ग प्रशस्त गर्दछ । सम्भव छ, एकल गोष्ठीले सम्मानको भाव पनि उत्पन्न गर्दछ, गौरवबोध हुन्छ । साहित्यकारहरु यही गौरवबोधका लागि पसिना बगाउँछन् । तर, फेरि पनि खट्केको पक्ष यो पनि हो कि हेटौँडेली साहित्यको चर्चा अन्यत्र खासै पुग्न सकेको छैन । पत्रपत्रिकामा त रहेको छ नै तर हेटौँडेली साहित्यले साहित्यको विशिष्टतायुक्त पहिचान स्थापित गर्न अझै बाँकी छ । माथि नै भनिसकिएको छ, उचित मूल्यांकन गर्ने दरिलो संयन्त्रको निर्माणको आवश्यकता छ ।
सबै किसिमको साहित्य सिर्जना भइरहेको हेटौँडाको साहित्यिक उन्नयन निरन्तर भइरहेको छ । हुनु पर्छ पनि । अझ फराकिलो मार्गको यात्री बनाउनको लागि वर्तमानले अझै बलियो मार्ग बनाउनु परेको छ । बलियो प्रकाशन र उचित मूल्यांकन गरिदिने संयन्त्र नहुँदासम्म साहित्य अधुरै रहने देखिन्छ ।