पशुपतिनाथ माविमा सडक नाटक मञ्चन

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार ०९:२१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४, मसिनेस्थित पशुपतिनाथ माविमा एकैदिन दुई वटा सडक नाटक मञ्चन भएको छ ।

बालबालिकाले बढी रुचाउने जंकफुटविरुद्ध जनचेतना जागृत गराउने र सामाजिक संजालको झुटो आश्वासनमा परेर हुने बेचबिखनसम्बन्धी सडक नाटक मञ्चन गरिएको हो ।

दुबै सडक नाटक बाल क्लबका विद्यार्थीले नै लेखन, निर्देशन गरेका थिए ।

उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेशको सहयोगमा जंकफुडविरुद्ध जनचेतना जगाउने सडक नाटक मञ्चन गरिएको हो ।

कार्यक्रम पशुपति बालअधिकार सचेतना समूहका अध्यक्ष अञ्जीना गिरीको सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको प्रमुख अतिथिमा भएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सप्रअ सुशील गौतम, बालक्लवका संरक्षक शिक्षक ईश्वर रिजाल, शिक्षक रामचन्द्र तिमल्सिना, विद्यालय नर्स बबिता ठाकुर, ईन्सेक प्रतिनिधि सलिना गौतमलगायतको सहभागिता रहेको थियो ।

जंकफुडले बालबालिकाको स्वास्थ्यमा पार्नसक्ने असरका बारेमा कलाकार विद्यार्थीले कलात्मक प्रस्तुती गरेका थिए ।

यसैगरी, मनहरी गाउँपालिका अन्तरगत बाल क्लब संजाल मनहरी–३ ले पनि पशुपतिनाथ माविमा मंगलबार सडक नाटक प्रदर्शन गरेको थियो । बाल क्लब सहजकर्ता लिला तामाङको संयोजनमा बालकलाकारले सामाजिक संजालका कारण हुने गरेका मानवबेचबिखन सम्बन्धी सडक नाटक प्रदर्शन गरेका हुन् ।