मनहरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार १८:५७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार १५ औं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको हो ।

सार्वजनिक नीति तथा कार्यक्रममा विपन्न परिवार र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आगामी आवबाट पालिकाले गरिव तथा विपन्न परिवारलाई अन्तिम संस्कार (दाह संस्कार र अन्त्येष्टि) का लागि आर्थिक सहयोग गर्ने जनाएको छ ।

कतिपय विपन्न परिवारहरुमा आर्थिक अवस्थाका कारण काजक्रिया खर्चका लागि समस्या हुने गरेको पाइएपछि यस्तो नीति अवलम्बन गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।

यस्तै, पालिकाले आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलिएत दिने नीति लिइएको बताए । पालिकाको सिफारीस वा परिचयपत्रको आधारमा गरिब तथा विपन्न नागरिकलाई यातायात भाडा छुटका लागि सार्वजनिक यातायात व्यवसायीसँग सम्झौता गरिने अध्यक्ष कालाखेतीले बताए ।

उनले दुबै नीति कार्यान्वयका लागि आवश्यक तयारी भइरहेको बताए ।