अझै सुरु भएन बागमती प्रदेश सभा बैठक
मकवानपुर । बागमती प्रदेश सभाको बैठक अझै हुन सकेको छैन । प्रदेश सरकारको विनियोजित बजेटमाथिको छलफल गर्न आह्वान गरिएको बागमती प्रदेश सभा बैठक अझै सुरु हुन नसेको हो ।
नेपाली कांग्रेस, राप्रपालगायत प्रतिपक्ष दलको अवरोधका कारण बैठक समयमा नै बस्न नसकेको हो । बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा निर्धारित समयमा सुरु हुन नसकेपछि सूचना टाँस गरेर २ बजेसम्मका लागि स्थगित गरेको थियो ।
सूचना टाँस गरेर २ बजेसम्मका लागि स्थगित गरेको प्रदेश सभा झण्डै ४ बजेसम्म पनि सुरु हुन सकेको छैन् ।
यसअघि बिहीबारको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आजसम्मका लागि सूचना टाँस गरे स्थगित गरिएको थियो ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय–व्ययको विवरण नै नमिलेको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध गर्दै आएका छन् ।
यसैबीच बजेट माथिको विवाद समाधान गर्न प्रदेश सभाका मुख्य ३ दल बिच हाल छलफल भइरहेको जनाइएको छ । छलफलमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र प्रतिपक्ष दल कांग्रेसका नेताहरु छन् ।
बागमती सरकारले यही असार १ गते आगामी आवको लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।