९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

तु खबर संवाददाता
२०८१ असार १०,आईतवार १७:०८
file-photo

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ९ जनाविरुघ भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रतिवादीहरूमा मुख्यसचिव अर्यालसहित, अर्थ सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका टेकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् ।

यस्तै, आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल र लेखा अधिकृत विष्णु प्रसाद गौतमलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी, सरकारी कर्मचारीहरू हरि वल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ । यसबाहेक अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्टसेल र त्यसका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ ।