‘विकासको मोडालिटीहरु नै विपद्को प्रमख कारक तत्व’

तु खबर संवाददाता
२०८१ असार १०,आईतवार १७:२९

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले नेपालमा विकासको लागि तयार पारिएका मोडालिटीहरु नै विपद्को प्रमुख कारक तत्व बनेको बताएका छन् ।

आइतबार हेटौंडामा भएको स्वय्सेवक सुचना प्रणाली सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले प्राकृतिक र मानवीय दुबै दुष्टिकोणले विपद् जोखिमको हिसाबले नेपाल उच्च जोखिममा रहेको बताउँदै हरेक ठाउँमा विपद् सुरक्षा संस्कृति निर्माण गर्नुपर्ने बताए ।

उनले विकासको नाममा बाटो खन्ने, भत्काउने कामले विनाशलाई नै निम्त्याउने भन्दै त्यसतर्फ सरकार र नागरिक पनि बढी जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

साथै उनले जलवायु परिवर्तनको कारण हिमालका हिउँ पग्लने, समुन्द्री सतह बढ्ने जस्ता समस्याहरु देखापर्न थालेको उल्लेख गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीना लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल लगायत प्रदेशका ११ वटा पालिकाका स्वयम्सेवकहरुको सहभागिता रहेको थियो ।