भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार १८:२८

मकवानपुर । भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित भएको छ ।

पालिकाको सोमबार सम्पन्न ११ औं गाउँसभा अधिवेशनबाट पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गरिएको हो ।

पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रैथाने बाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने उल्लेख गरिएको छ ।

यस्तै, पालिकाले विद्यालयमा खाजा कार्यक्रमलाई विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रममा संघीय सरकारले ५ कक्षासम्म सञ्चालक गरेको खाजा कार्यक्रमलाई पालिकाले विस्तार गरेर ८ कक्षासम्म पुर्याउने नीति लिएको जनाएको छ ।

यसैगरी, पालिकाले अनौपचारिक क्षेत्रका १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रस्ताव गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा पनि १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको छ ।

गाउँ सभामा न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले न्यायिक समितिको प्रगति प्रतिवेदन र आगामी आवको आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम, आर्थिक विधेयक र न्यायिक समितिको प्रतिवेदन पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि गाउँसभा स्थगित गरिएको छ ।

गाउँसभा पालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।