कमिशनमा भागबण्डा नमिलेपछि खेर गयो लाखौँको ‘काउम्याट’

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार १५:४१
तस्वीरः वडाध्यक्ष कृष्ण बजगाईँ र विद्यालयको खेलमैदानमा फ्याँकिएको काउम्याट

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–६ का लक्षित वर्गका कृषकलाई अनुदान स्वरुप वितरण गर्न खरिद गरिएको गाईँ भैँसीलाई बस्न प्रयोग गरिने न्यानो ओच्छ्यान (काउम्याट) वर्षौँदेखि अलपत्र अवस्थामा विद्यालयको खेलमैदानमा फ्याँकिएको छ ।

वडाका दलित, जनजाती एवम् विपन्न समूदायका कृषकलाई वितरण गर्ने भन्दै आर्थिक वर्ष २०७९/०८० को वडाको सिलिङ बजेटबाट खरिद गरिएको ६१ वटा काउम्याट वर्षौँ बितिसक्दासमेत कृषकले पाएका छैनन् । बरु, स्थानीय जाल्पादेवी माविको खेल मैदानमा फ्याँकिएको छ । जसमध्ये अहिले अधिकाँश च्यातिएको छ । यता, खरिदको जिम्मा लिएको गणपति एग्रिकल्चरले भने गाउँपालिकाबाट भुक्तानी पाइसकेको छ ।

काउम्याट खरिदबापत् गाउँपालिकाबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको पालिकाका सूचना अधिकारी रामबहादुर घलानले पुष्टि गरे ।

गणपति एग्रिकल्चरले तोकिएकै समयमा काउम्याट खरिद गरेर वडा कार्यालयलाई बुझाएको थियो । तर, वडाध्यक्ष कृष्ण बजगाईँले खरिद कम्पनीसँग कमिशन माग गरेपछि लफडा सुरु भएको स्रोत बताउँछ ।

गुणस्तरीय काउम्याट खरिद गरेर ल्याएकोले कमिशन दिन नसकिने खरिद कम्पनीको अडानपछि वडाध्यक्ष बजगाईँले खरिद कम्पनीले गुणस्तरहिन काउम्याट ल्याएको र फिर्ता गर्नुपर्ने भन्दै लफडा सुरु गरेका हुन् । उनले वडाका अन्य जनप्रतिनिधिलाई समेत कमिशन बाँड्नुपर्ने भन्दै मोटो रकम माग गरेको स्रोतको दावी छ ।

कम्पनीले काउम्याट फिर्ता गर्न मानेन । गाईँभैँसीलाई ओछ्याउनुपर्ने काउम्याट जाल्पादेवी माविको खेलमैदानमा ओछ्याइयो । अहिले पनि काउम्याट विद्यालयकै खेलमैदानमा च्यातिएको अवस्थामा छ । सो काउम्याट अब कृषकलाई बाँड्न नमिल्ने अवस्थामा पुगेको र राज्यको लाखौँ लगानी खेर गएको भन्दै स्थानीयबासीहरुले गुनासो गरेका छन् ।

वर्षौँसम्म घामपानीमा राखिएको र बालबालिकाले सोही म्याटमाथि खेलकुदका गतिविधि गर्दा अधिकाँश म्याट च्यातिएको हो । विपन्न कृषकका लागि खरिद गरिएको म्याटको दुरुपयोग हुँदा राज्यको लाखौँ लगानी बालुवामा पानी भएको छ ।

यस विषयमा वडाध्यक्ष बजगाईँले भने खरिदको जिम्मा पाएको कम्पनीले गुणस्तरहिन काउम्याट खरिद गरेकोले फिर्ता गर्न विद्यालयमा राखिएको प्रतिक्रिया दिए । ‘हामीले खरिद कम्पनीलाई फिर्ता गर्नु भनेर विद्यालयमा राखेका थियौँ । विद्यालयले लापरबाही गर्दै खेलमैदानमा ओछ्याइदिएछ । अहिले ४/५ पिस च्यातिएको छ । हामीले त्यतिबेला फिर्ता गर्नु भनेको गुणस्तरहिन भएर हो । कमिशनमा भागबण्डा नमिलेर होइन ।’ उनले भने ।

गणपति एग्रिकल्चरले भने आफुहरुले सम्झौता अनुसारकै सामान दिएको र २० वर्षसम्म वारेन्टी दिएको दावी गरेको छ । गाईँभैंसीलाई प्रयोग गर्दा च्यातिएको भए मात्रै साट्न मिल्ने कम्पनीले बताएको छ ।

विद्यालयको खेलमैदानमा फ्याँकिएको काउम्याट