पत्रकारिता लोकतन्त्रको आधारभूत तत्व होः मन्त्री श्रेष्ठ

तु खबर संवाददाता
२०८१ असार १३,बुधबार १५:४०

मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले पत्रकारिता लोकतन्त्रको आधारभूत तत्व रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले बुधबार हेटौंडामा सम्पन्न आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित सेवा प्रवाह तथा सुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सरकारको प्रवक्ता समेत रहेका उनले पत्रकारिताले सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याएको उल्लेख गरे । साथै उनले सञ्चार क्षेत्र पनि जिम्मेवार, जवाफदेही र मर्यादित हुनुपर्नेमा जोड दिए ।

राजनीतिक दल र कर्मचारीहरुले सञ्चार क्षेत्रलाई आतँकको रुपमा लिने गरेको भन्दै त्यस प्रकारको गलत धारणा विकास गर्न नहुने समेत उनको भनाई छ ।

कार्यक्रममा मन्त्रालयकी कानून महाशाखा प्रमुख मनुका घिमिरेले सेवा प्रवाह तथा सुशासनमा कानूनी निर्माण प्रक्रियाबारे सहभागीहरुलाई सहजिकरण गरेकी थिइन् भने पत्रकार सुरेश श्रेष्ठले सेवा प्रवाह र सुशासनमा सञ्चारकर्मीको भूमिकाका विषयमा सहजिकरण गरेका थिए ।