राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने गरी बोलाइएको हो ।
सो बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
साथै आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।