बागमती प्रदेश सभाको बैठक जारी, बजेट पारित गर्ने तयारी

तु खबर संवाददाता
२०८१ असार १४,बिहीबार १८:४७

मकवानपुर । बागमती प्रदेश सभाको बैठक हाल जारी छ । अपराह्नबाट सुरु भएको बैठकमा प्रदेश सरकारको विनियोजित विधेयक अन्तरगत मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।

छलफलमा सहभागी प्रदेश सभाका सदस्यहरुले उठाएका राष्ट्रिय सरोकार एवम् विभिन्न मन्त्रालयले तर्जुमा गरिएको नीति, कार्यक्रम र बजेट बाँडफाडलाई लिए उठेको प्रश्नको सम्बन्धित मन्त्रीहरुले विषयगत जवाफ दिइरहेका हुन् ।

प्रदेशको १२ मन्त्रालय र मुख्यमन्त्री कार्यालयमध्ये हालसम्म ९ वटा मन्त्रालयका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको विषयमा जवाफ दिइसकेका छन् । जसमा श्रम, रोजगारमन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, खानेपानी, उर्जा तथा सिचाईँमन्त्री एकालाल श्रेष्ठ रहेका छन् ।

यसैगरी, वन तथा वातावरणमन्त्री केशव प्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री रमा आले मगर, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य र भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले पनि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइसकेका छन् ।

अन्य मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीले भने जवाफ दिन बाँकी छ । उनीहरुले पनि क्रमशः जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार, सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको तर्फबाट जवाफ दिएपछि प्रदेश सरकारको विनियोजित बजेट पारित गर्ने तयारी रहेको छ ।