‘कृषिलाई व्यवसायिक बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले कृषिलाई व्यवसायिक बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रदेश प्रमुख शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडि बढाउन देशका तीनै तहका सरकारको उत्तिकै ध्यान जानु आवश्यक रहेको बताए ।
उनले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सम्बन्धित सबैको ध्यान जाओस् र हाम्रो देश यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्ने कामना समेत गरे ।
प्रदेश प्रमुख शर्माले असार १५ को दिनलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको प्रतिकका रुपमा मनाउँने गरिएको बताउँदै सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको २० वर्ष पुगिरहँदा नेपाली कृषकहरुले यसलाई एउटा उत्सवकै रुपमा लिने गरेको बताए ।
कृषि प्रधान देश नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु सबैको लागि चिन्ताको विषय भएको शर्माको भनाई छ ।