जेनेभामा राष्ट्रपति र जलवायु परिवर्तनको मुद्धा
जेनेभामा ११२ औँ अन्र्तराष्ट्रिय श्रम सम्मेलनको उच्च स्तरीय सत्रमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधन वास्तवमै हाल विश्व समुदायले झेलिरहेको महत्वपूर्ण मुद्धामा केन्द्रीत थियो । सामाजिक न्यायको कुरा गरिरहँदा जलवायु न्यायको सवाल विर्सनै नहुने विषय भएकोमा राष्ट्रपतिले जोड दिए । सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन विषयक सत्रमा मुख्य वक्ताको रुपमा नेपालका राष्ट्रपति पौडेलले जलवायु परिवर्तन र यसबाट सिर्जित समस्याबाट मुख्यतः ठूला राष्ट्रहरु बिमुख हुन नहुने बताए । कार्बन उत्र्सजनमा नगन्य योगदान भएपनि जलवायु परिवर्तनको खराब असरहरु नेपाललाई परिरहेको र जलवायु परिवर्तनको जोखिमा रहेका नेपाल लगायतका देशहरुलाई प्रयाप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराउनु पर्ने कुरामा राष्ट्रपतिको जोड थियो ।
जलवायु परिवर्तनको नकारात्मक असरहरुको समाना नेपालले पनि गर्नु परेको बताउँदै राष्ट्रपतिले संसारको सर्वोच्च शीखर सगरमाथा र अन्य अग्ला शृखलाहरु काला पहाडमा परिणत हुन थालेको राष्ट्रपतिले आफ्नो सम्बोधनका क्रममा व्यक्त धारणामा उल्लेख थियो । स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्नुका साथै लाखौँ मानिसलाई गरिवी र असमानतातर्फ धकेलेकोमा राष्ट्रपति चिन्तित देखिए । जलवायु परिवर्तनबाट उत्पन्न भएका समस्याहरुले मानव जीवनमा झनै जटिलता थपेको राष्ट्रपतिको भनाइ थियो ।
नेपालका राष्ट्रपति पौडेलले जेनेभामा व्यक्त गरेको यी माथिका भनाइको सारले नै जलवायु परिवर्तनको मारमा नेपाल पनि परिरहेको र त्यसको असरलाई कम गर्न ठूला र शक्तिशाली राष्ट्रहरुको भूमिका महत्वपूर्ण हुने तथ्य बुझ्न सहज छ ।
कार्बन उत्सर्जनमा शक्तिशाली देशहरुबीच होडबाजी चलिरहेको छ । जसका कारणले विश्वमा जलवायु परिवर्तनका गम्भीर असरहरु देखिएका छन् । देखिएका मात्र छैनन, त्यसको असरका कारण प्राकृतिक क्षति र विपद्को समाना गर्न परिरहेको छ । यतिधेरै असरहरु झेलिरहँदा पनि अझै शक्ति राष्ट्रहरुबीच यसको होडबाजी नै छ । यसले विश्व समुदायलाई चिन्तामा पारेको छ र यसका असरबाट बच्न सबैले आआफ्ना स्थानबाट महत्वपूर्ण योगदान दिन ढिला भइसकेको छ ।
संयुक्त राष्ट्रसंघले बढ्दो जलवायु परिवर्नत र यसबाट सिर्जित समस्याबाट जुध्न विश्व समुदायलाई अपिल गर्दै आइरहेको छ । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमले कार्बन उत्सर्जनको स्थितिलाई घटाउन र जलवायु परिवर्तनको असरलाई कम गर्न विश्व समुदायलाई आह्वान गर्दै आइरहेको छ ।
विश्वव्यापी रुपमा तापमानमा आएको वृद्धिका कारण अहिले जलवायु परिवर्तनका असरहरुको सामना विश्व समुदायले गरिरहेको छ । मानवीय गतिविधिका कारणले प्राकृतिक संरचनामा आएको वदलाव, मानव समुदायले प्रकृतिमाथि गरेको दोहनका कारण जलवायुको स्वभाविक चक्र विथोलिएको छ । समाज, अर्थ व्यवस्था र पारिस्थितिक प्रणालीलाई असर पुर्याउँदा यसले विश्वलाई नै चिन्तिक तुल्याएको छ ।
अघिल्लो वर्ष संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो प्रसासनको मुख्य काम जलवायु परिवर्तनबाट विश्व समुदायलाई बचाउनु रहेको मन्तव्य राखेका थिए । उनले जलवायु परिवर्तनका असरहरुबाट बच्न धेरै काम गर्ने र त्यसका लागि सहकार्य गर्न विश्व समुदायलाई आह्वान पनि गरे ।
राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल भ्रमणका क्रममा जलवायु परिर्वतनको सवाललाई चासो पूर्वक राखेका थिए । विश्व तापमान वृद्धिका कारण साना देशहरुले झेल्न परिरहेको समस्यामा गुटेरेसले चिन्ता व्यक्त गरे ।
नेपालका राष्ट्रपति पौडेलको जेनेभा सम्बोधनमा पनि यही समस्या प्राथमिकताका साथ प्रस्तुत भयो । ठूला र शक्ति राष्ट्रहरुको गलत क्रियाकलापको मार नेपालजस्ता साना देशले भोग्नु दुखद् रहेको तथ्यलाई राष्ट्रपति पौडेलले विश्व समुदायबीच राखे र ती शक्तिशाली देशहरुले नेपाललाई प्रविधि र प्रयाप्त कोष व्यवस्था गर्नुपर्ने कुरालाई उठाए ।
वास्तवमै विश्वका शक्तिशाली देशहरुले कार्बन उत्सर्जनमा गरेको होडबाजी निन्दाको विषय हो । अब पनि सचेत नहुने हो भने जलवायु परिवर्तनका असरका कारण विश्वले झेल्नै नसक्ने विपद् सामाना गर्नुपर्ने हुन सक्दछ ।
राष्ट्रसंघका महासचिव गुटेरेस, नेपालका राष्ट्रपति पौडेल र अमेरिकी राष्ट्रपति जो बाइडेनहरुले विश्व मंचमा व्यक्त गरेका जलवायु परिवर्तन, यसले पारेको असर र यसबाट बच्न पालना गर्नुपर्ने अनुशासन साँच्चै आवश्यक छ तर मंचहरुमा व्यक्त हुने यस्ता प्रतिवद्धता कार्यान्वयन भने तत्काल हुन आवश्यक छ । जसरी राष्ट्रसंघ जलवायु परिवर्तनको मुद्धामा चिन्तित छ र उसले विश्वलाई एकमत भएर यसका विरुद्ध लड्न प्रेरित गरिरहेको छ त्यसमा हरेक नागरिक र राष्ट्रको योगदान जरुरी छ ।