एकीकृत समाजवादीको महाधिवेशन आजबाट सुरु, काठमाडौँमा शक्ति प्रदर्शन
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । १० औ महाधिवेशनको उद्घाटनअघि काठमाडौंको भृकुटीमण्डपमा विभिन्न भेषभुषासहित एकीकृत समाजवादीले र्यालीसहित शक्ति प्रदर्शन गरेको हो ।
र्यालीमा पार्टीका अध्यक्ष माधव नेपालसहित झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता/कार्यकर्ताहरु सहभागी छन् ।
समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुँदैछ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने र नयाँ नेतृत्व चयन गर्ने समेत जनाइएको छ । सकेसम्म सहमतिमा र सहमति जुटाउन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने समाजवादीका केन्द्रीयस्तरका एक नेताले बताए ।
नेतृत्वका लागि हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसालको दावी रहेको छ ।
असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।
नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो ।