नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ओली सहभागी नहुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी नहुने भएका छन् ।
ओलीको सचिवालयले ओली एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नहुने जनाएको छ ।
महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेता निम्तो गरिए पनि ओली सहभागी नहुने भएका हुन् ।
ओलीको सचिवालयले अर्कै कार्यक्रम तय भएकाले ओली सहभागी नहुने बताएपनि उनी आफैँ एकीकृत समाजवादीको कार्यक्रममा जान अनिच्छुक रहेको नेकपा एमालेकै नेताहरुले बताएका छन् ।
२०७८ सालमा एमालेबाट विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । तर, अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिन अस्वीकार गर्दै आएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने महाधिवेशनको उद्घाटन कार्यक्रममा पुगिसकेका छन् ।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु भएको छ ।