‘रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ’

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार १०:१४

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनी करिब तीन लाख युनिट रगत चाहिन्छ । तर, जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग बढेको हो ।

ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ ।

स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी/एड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।

रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा रक्तदानको अवस्थाबारे तु खबरले रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटासँग कुराकानी गरेको छ । प्रस्तुत छ, प्राविधिक सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश ।

सवालः रक्त प्राविधिकका रुपमा लामो समयदेखि काम गरिरहनुभएको छ, यो क्षेत्रमा कहिलेबाट र कसरी प्रवेश गर्नुभयो ?

जवाफः धन्यवाद, मैले यो काम २०७२ सालबाट सुरु गरेको हुँ । काठमाडौँमा बसेर सम्बन्धित विषयमा अध्ययन गरे । २०७० पछि हेटौंडा आएर अर्थोपेडिक हस्पिटलमा करिब १ वर्ष काम गरेँ । त्यसपश्चात् ब्लड बैँकमा कर्मचारी आवश्यक भएको थाहा पाएँ र आवेदन दिएँ । छनौट प्रक्रियाबाट म चुनिएँ र यहाँ २०७२ सालदेखि निरन्तर कार्यरत छु । अब, यो क्षेत्रमा प्रवेश गर्नुको कारणको चर्चा गर्नुपर्दा स्वास्थ्य क्षेत्र मेरो रुचीको क्षेत्र हो । आफुलाई मनपर्ने क्षेत्र भएकाले स्वास्थ्यतर्फ नै मेरो अध्ययन अघि बढ्यो र यहाँसम्म आइपुगेँ । रुचीको क्षेत्र भएकाले काम गर्न पनि निकै खुसी लाग्छ ।

अब, यहाँसम्म आइपुग्नुमा सबैभन्दा ठूलो प्रेरणाको स्रोत मेरो परिवार हो । स्वास्थ्य क्षेत्रमा मेरो दाईहरु पनि हुनुहुन्छ । उहाँहरुले पनि मलाई निकै सहयोग गर्नुभएको छ । त्यसपछि मलाई अध्ययनका क्रममा सहयोग गर्ने शिक्षकहरु, अहिलेसम्म जहाँजहाँ रहेर काम गरेँ, निरन्तर सहयोग सल्लाह दिनुहुने एवम् शुभेच्छा, शुभकामना दिनुहुने सबै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । मानिस एक्लैले चाहेर हरेक विषयमा सफलता हात पार्न सक्दैन । तर, साथ सहयोग गर्ने सल्लाह सुझाव दिने मानिस भयो भने जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि सफलता हात पार्न सकिन्छ जस्तो लाग्छ ।

सवालः यहाँसम्म आइपुग्दा के–कस्ता चुनौतीको सामना गर्नुपर्यो ?

जवाफः सबैभन्दा पहिला सामान्य परिवारको मानिसलाई सम्बन्धित विषय अध्ययन गर्न नै समस्या हुन्छ । किनकी अहिलकै अवस्थामा पनि ३ वर्षे कोर्ष अध्ययनमै करिब ६ लाख रुपैयाँ खर्च हुन्छ । पहिला हेटौंडामा यसको पढाई हुँदैनथ्यो । काठमाडौँ वा बाहिर गएर पढ्नुपर्यो । अझ स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसबाट विशेषगरी काम गर्दा सानो त्रुटि भयो भने, विरामीको स्वास्थ्यमा ठूलो असर पर्नसक्छ । त्यसैले धेरै होसियार भएर गर्नुपर्ने हुन्छ । हामी स्वास्थ्य प्राविधिकहरु निकै होसियार हुनु आवश्यक छ । काम चाँही म सिफ्ट अनुसार गर्छु । यहाँ अहिले ३ जना कर्मचारी हुनुहुन्छ । हामी दिउँसो राति गरेर मिलाएर काम गर्छौँ ।

सवालः रक्तदाताहरुको बुझाई कस्तो पाउनुभएको छ ? रक्तदानमा मानिसहरुको कत्तिको रुची देखिन्छ ?

जवाफः मकवानपुरमा रक्तदानप्रति मानिसहरुको उल्लेख्य रुची देखेँ । यहाँका मानिसहरुमा रक्तदान गर्नुपर्छ भन्ने चेतनाको विकास भएको देखिन्छ । राति १२ बजे कुनै व्यक्तिलाई रगत अभाव छ भनेर फोन गर्दा तत्कालै आएर रगत दिनुहुन्छ । यहाँका मानिसलाई रगत दान गर्नुपर्छ, भोलि हामीलाई पनि अप्ठेरो पर्न सक्छ भन्ने खालको धारणाको विकास भएको मैले पाएँ ।

केही वर्ष पहिलेसम्म मानिसहरुमा रगत दिँदा केही समस्या हुन्छ की, हामीले त्यत्तिकै किन रगत दिनु, हामीलाई पर्दा पाइँदैन भन्ने जस्तो सोचाई रहेको हामी पाउँथ्यौँ भने अहिले मानिसहरुमा रक्तदान नै जीनवदान हो भन्ने धारणाको विकास भएको छ । मानिसहरु चेतनशील हुँदै गएको र रक्तदानका लागि उत्साहित भएको देख्दा निकै हर्षित हुन्छु र आफ्नो काममा पनि म सन्तुष्ट छु ।

सवालः दैनिक सरदर कति जनाले रक्तदान गर्नुहुन्छ ?

जवाफः दैनिक ब्लड बैँकमै आएर रक्तदान गर्नेहरुको संख्या त न्यून छ । दैनिक ४÷५ जना मात्रै हुन्छ । ब्लड बैँकमै डोनेट गर्नेहरुलाई हामीले इमेरजेन्सी कल लिस्टमा राखेका हुन्छौं । ताजा रगत चाहिएमा हामी उहाँहरुलाई पनि बोलाउँछौँ । रक्तदान गर्ने चाहाना भएको व्यक्तिले यहाँ आएर २४ सै घण्टा रक्तदान गर्न सक्नुहुन्छ । विभिन्न सामाजिक संघ संस्थाहरुले हामीसँग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गर्नुहुन्छ । त्यस्ता कार्यक्रमहरुबाट रगत संकलनमा सहयोग पुगिरहेको छ ।

सवालः अहिले विरामीको माग अनुसार रगत उपलब्ध गराउन सक्ने अवस्था छ ?

जवाफः अहिले हामीले सबै अस्पतालमा ब्लड उपलब्ध गराइरहेका छौं । त्यसमध्ये पनि हेटौंडामा अहिले मृगौलाका विरामीको संख्या बढ्दो छ । उहाँहरुलाई डाइलाइसिस गर्न हप्तामा २ देखि ३ पटक आवश्यक पर्दछ । उहाँहरुलाई नै विशेष प्राथमिकता दिएका छौं । कतिपय अवस्थामा रगत अभाव हुँदा हाम्रो लिस्ट भएका रक्तदाताहरुलाई बोलाएरै रगत दान गर्न अनुरोध गर्छौँ । रगत पर्याप्त छ भन्ने होइन, कतिबेला के हुन्छ ? कति रगत आवश्यक पर्छ भन्न सकिँदैन । त्यसकारण सकेसम्म रक्तदान गर्न मिल्ने व्यक्तिले रक्तदान गरेर अरुको जीवन बचाउन महत्वपूर्ण सहयोग पुर्याउनुहोला भन्न चाहान्छु ।

सवालः ब्लड बैँकका समस्याहरु के–के छन् ?

जवाफः हरेक क्षेत्रमा चुनौती पक्कै हुन्छ । हेटौंडा ब्लड बैँकमा चाँही जनशक्तिको अभाव छ । ३ जनाले २४ सौं घण्टा डिउटी गर्नुपर्छ । त्यसकारण हामीले सोचेजस्तो सेवा दिन सरिरहेका छैनौँ । रगत लिनका लागि नेपालभर जुन प्रक्रिया हो, हामीकहाँ पनि त्यही प्रक्रिया हो । ब्लड दिँदा बिरामीलाई हामीले कतिको क्वालिटीको ब्लड दिन सक्छौं भन्ने कुरा चाँही निकै गम्भीर विषय हो । त्यसमा अपडेट गर्दै जानुपर्दछ जस्तो लाग्छ । सरकारले पनि एउटा ब्लड बैंक संचालन गर्ने भन्ने कुरा पहिलेदेखि नै चलिरहेको थियो । तर, सञ्चालनमा आउन सकेको छैन । त्यसको पछाडी विविन्न कारण हुनसक्छन् । तर, ब्लड बैँकले छिटो छरितो सेवा प्रवाह गर्नको लागि जनशक्ति थप गर्दा राम्रो हुने थियो ।

सवालः रक्तदाताले रगत दान गरेपछि रगतलाई कसरी राखिन्छ ? के कस्ता प्रक्रिया हुन्छन् ?

जवाफः सर्वप्रथम त, हामीले रक्तदाताको रगत संकलन गर्छौँ । त्यसपछि त्यसलाई ३५ दिनको लागि स्टोर गर्छौ । बीचैमा अस्पतालबाट बिरामीको लागि रगत लिन आउनुहुन्छ । हामीले बिरामीको रगतको विवरण हेरेर क्रसम्याच गरेर मिल्ने रगत पठाउँछौँ ।
क्रसम्याच गर्दा हामीले त्यो रगतमा एचआईभी हेपाटाइटिसलगायत ४ वटा परीक्षण गर्छौँ । क्रसम्याचपछी विरामीको लागि मिल्ने रगत पठाउँछौँ । रक्तदाताले दिनुभएको रगत ३५ दिनसम्म प्रयोगमा ल्याउन सकिन्छ ।

सवाल: पछिल्लो समय स्वास्थ्य शिक्षा अध्ययनपश्चात् युवाहरु सम्भावनाको खोजिमा विदेशिने लहर नै चलेको छ । तपाईँको चाँही विदेश जाने सोच छैन ?

जवाफः विभिन्न सोचहरु त आउँछन् नै । तर, सबै सोचहरु कार्यान्वयनमा ल्याउन सकिँदैन वा मिल्दैन भनौँ । नेपालको वर्तमान परिस्थिति हेर्दा त खुसीले नेपालमा बस्न सायदै कसैलाई मन लाग्ला । तर, हामी सबै विदेश गएर नेपालमा चाँही कसले गर्ने भन्ने खालको सोच आउँछ । त्यसकारण मेरो चाँही विदेशिने सोच छैन । मैले जागिरसँगै बँचेको समयमा आफ्नो ल्याबमा पनि काम गर्छु । त्यसबाट पनि केही बचत हुन्छ । त्यसकारण सबै जनाले बाहिरिने मात्रै सोच बनाउनुभन्दा पनि कसरी सकारात्मक पहल गरेर, मिहेनत गरेर नेपालमै कसरी आम्दानी बढाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ कि जस्तो लाग्छ ।

सवालः कस्ता व्यक्तिले रक्तदान गर्न मिल्दैन ?

जवाफः १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले मात्रै रक्तदान गर्न सक्छन् । त्यसभन्दा कम वा बढी उमेर समूहका व्यक्ति रक्तदानका लागि अयोग्य मानिन्छन् । त्यस्तै रक्तदान गर्ने व्यक्तिको तौल कम्तिमा पनि ४५ केजी हुनुपर्दछ । प्रेसर नियन्त्रणमा हुनुपर्छ । दीर्घ रोग लागेका वा निरन्तर औषधि सेवन गरिरहेका व्यक्तिले रक्तदान गर्न मिल्दैन । जण्डिस भएको छ भने ६ महिना कुर्नपर्दछ र नर्मल अप्रेशन गर्नुभएको छ भनेपनि ६ महिना र मेजर अप्रेशन गर्नुभएको छ भने १ देखि ५ वर्ष कुनुपर्दछ, मुटुको अप्रेशन गर्नुभएको छ भने जीवनभर नै रक्तदान गर्न हुँदैन । माथि उल्लेख गरे जस्तै विभिन्न मापदण्डहरु छन् । हामी रगत संकलन गर्नुपूर्व यो सबै विषयमा जानकारी लिन्छौँ ।

सवालः अन्तरवार्ताको अन्तमा के भन्न चाहानुहुन्छ ?

जवाफः सबैभन्दा महत्वपूर्ण विषय मलाई बोल्ने अवसर दिनुभयो । तु खबरले आवाजविहिनहरुको आवाज समेट्दै आएको छ । हामीजस्तै संघर्षरत विभिन्न क्षेत्रका मानिसहरुको अनुभवलाई प्राथमिकता दिँदै आउनुभएको छ । त्यसको लागि म सम्पूर्ण टिमलाई नै धन्यवाद दिन चाहान्छु । धेरै कुराहरु आइसकेको छ । फेरी एकपटक भन्न चाहान्छु, रक्तदान गरौं, रक्तदान नै जीवनदान हो । धन्यवाद ।