प्रादेशिक संरचनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार १३:२५

हेटौंडा । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

हेटौँडा–१७, हटियामा प्रदेश सरकारका प्रशासनिक निकायका भवन तथा संरचना निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गरेको मन्त्री दुलालले बताए ।

उक्त आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा प्रयोग हुने भएकाले जग्गा प्राप्तिमा सहजीकरण गर्न गौरवको आयोजनाको रुपमा समेट्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताए । वन क्षेत्रको जग्गाको भेगाधिकार प्राप्त गर्न सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने प्रावधानका अनुसार संघीय सरकार समक्ष सिफारिस गरिएको उनको भनाई छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरु संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, संचालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकुल नदेखिएका दफाहरु संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरु परिवर्तन गर्नुपर्ने देखिएकाले सो विधानलाई परिमार्जन परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तिका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।