एकीकृत समाजवादीको टिप्पणीः कांग्रेस–एमाले गठबन्धन चरम अवसरवाद

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १४:५५
Madhav- kumar- nepal

मकवानपुर । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्राको सहमतिलाई नेकपा एकीकृत समाजवादीले चरम अवसरवाद भन्दै टिप्पणी गरेको छ ।

माओवादी केन्द्र नेतृत्वको सरकारमा रहेको एकीकृत समाजवादीले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएको हो ।

सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि एकीकृत समाजवादीले अब बन्ने नयाँ सरकार देश र जनताको लागि नभई अवसरका लागि भएको टिप्पणी गरेको छ ।

प्रचार विभाग प्रमुख रहेका उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो ।’