२०४६ यता चौथोपटक पहिलो र दोस्रो दलको सत्ता सहयात्रा

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १५:१३

काठमाडौँ । राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरण भएको छ । मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस सत्ता सहकार्यका लागि एकै ठाउँमा आइपुगेका छन् । यता, एमाले र माओवादीसहितको गठबन्धन भत्किँदा सत्ताधारी दलहरु तितरवितरको अवस्थामा पुगेका छन् ।

२०४६ सालयता नेपालको संसदीय राजधानीमा चौथो पटक दुई ठूला दलबीच सत्ता समिकरण भएको हो । इतिहास हेर्दा यसअघि पहिलो र दोस्रो ठूलो दल मिलेर तीन पटक सरकार बनाएका छन् ।

पहिलोपटक २०५५ सालमा दुई ठूला दल कांग्रेस र एमाले एकैपटक सरकारमा सहभागी भएका थिए । कांग्रेस–एमालेको सरकारले २०५६ सालमा चुनाव गराएको थियो ।

२०६३ सालमा संसद पुनःस्थापनापछि बनेको सरकारमा पनि दुई ठूला दल कांग्रेस र एमाले सहभागी भएका थिए । कांग्रेसका गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री बनेका थिए । यो सरकारमा भर्खर जनयुद्ध त्यागेर आएको माओवादी पनि सहभागी थियो ।

२०६६ सालमा एमालेका माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकारमा पनि एमाले–कांग्रेसले सहकार्य गरेका थिए । दोस्रो संविधानसभा चुनावपछि २०७० सालमा कांग्रेस र एमाले मिलेर सरकार बनाएका थिए ।

नेपालको वर्तमान चुनाव प्रणालीका कारण कुनै पनि दलले एकल बहुमत ल्याउन सहज छैन । यस्तोमा संयुक्त सरकार वाध्यता बन्दै आएको छ । संयुक्त सरकार प्राय अस्थिर हुने र साना दलहरुले ठूलो भाग खोजेर बार्गेनिङ गर्ने प्रवृत्ति मौलाउँदै गएको थियो । यस्तोमा प्रमुख दुई दल मिलेर मजबुत सरकार निर्माण हुन सक्ने धारणाहरु दुवै पार्टीको एउटा कोणबाट प्रकट भइरहेका थिए ।

कांग्रेस र एमालेको गठबन्धनमा केही सीट थप्दा दुईतिहाइ नै पु¥याउन सकिने अवस्था छ । यस्तोमा यो गठबन्धनले संविधान संशोधन गरेर चाहेको कुरा लागू गर्न सक्ने सामथ्र्य राख्नेछ ।