प्रजा आधारभुत विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १६:३९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ को श्री प्रजा आधारभुत विद्यालयमा निःशुल्क कम्प्युटर कक्षाको सुरुवात भएको छ ।

वडा नं. ३ को कार्यालयले शैक्षिक सत्र २०८१ देखि विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा सुरु गरेको हो ।

गाउँपालिकाको सहयोगमा १६ वटा कम्प्युटरको व्यवस्था गरी कम्प्युटर कक्षाको सुरुवात गरिएको वडा नं ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्यालले जानकारी दिए ।

सामाजिक विकास समितिका संयोजक समेत रहेका अर्यालले भने, “आजको प्रविधिमैत्री युगमा कम्प्युटर कक्षाको महत्वलाई मध्यनजर गर्दै यस कार्यको सुरुवात गरिएको छ ।’’

विद्यालयले हाल कक्षा ६, ७ र ८ लाई अनिवार्य कम्प्युटर कक्षाको सुरुवात गरेको प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिए । अगामी दिनमा सम्भव भएसम्म अन्य कक्षाका विद्यार्थीहरुलाई पनि अनिवार्य गर्ने उनको भनाई छ ।