अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १६:४८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु र झाप जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–८ लौगाईस्थित बोड्गाउँ डिजि फेन्सीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्रामसहित सोमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय नबिन बेलबासे रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्रामसहित २ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका–७ बस्ने ३३ वर्षीय सुरज लामा र विर्तामोड नगरपालिका–५ बस्ने २२ वर्षीय बिजय मगर रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प २४४५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।