प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण गठबन्धन फेरियोः लोसपा

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १७:०१

काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्वागत गरेको छ । लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोेलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेको भन्दै आफुहरुले यसलाई स्वागत गरेको जानकारी दिए ।

उनले सानो पार्टी भएर पनि निरन्तर प्रधानमन्त्री पदमा बस्दा प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण पनि अहिलेको गठबन्धन आवश्यक भएको बताए ।

‘अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०५२ पछिको राप्रपाको जस्तो राजनीति गर्दै हुनुहुन्थ्यो । ३२ सिट भएर पनि सरकारको नेतृत्व पाउँदा प्रचण्डमा जुन प्रकारको दम्भ देखिएको थियो र जुन ढंगले संसद्लाई बन्धक बनाउने काम भएको थियो त्यसबाट मुक्ति पाउन आवश्यक भइसकेको थियो ।’ महामन्त्री डा. झाले भने ।

उनले संविधान संशोधनमार्फत् बाँकी मधेस आन्दोलन र अन्य आन्दोेलनका थाती रहेका मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँ उभिनुपर्ने आवश्यकता रहेको बताए ।