२०६२ यता सरकारमा ४ पटक माओवादीको नेतृत्व, १० पटक महत्वपूर्ण हिस्सासहित सहभागी

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १७:३७
file-photo

काठमाडौँ । माओवादीले २०६२ मंसिरमा १२ बुँदे सम्झौता गरेर सशस्त्र विद्रोह त्याग्यो । सोही सम्झौताको जगमा भएको ०६२/०६३ को जनआन्दोलनले राजतन्त्र ढल्यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपश्चात् माओवादीले करिब दुई दशकको अवधिमा सत्ताको लाभैलाभ लिइरहेको छ ।

२०६३ सालमा कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकारबाट माओवादीले सत्तायात्रा प्रारम्भ गरेको हो । गणतन्त्र स्थापनापछि माओवादीले ४ पटक सरकारको नेतृत्व गरेको छ भने १० पटक सरकारमा महत्वपूर्ण हिस्सासहित सहभागी भएको छ । कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण बनेपछि ओली फेरी प्रधानमन्त्री बन्ने तयारीमा छन् भने समीकरण सफल हुँदा माओवादी प्रमुख प्रतिपक्षी दलको रुपमा संसद्मा उपस्थित हुनुपर्ने परिस्थिति बनेको छ ।

०६३ सालमा कोइराला नेतृत्वको संयुक्त अन्तरिम सरकार बनेको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठुलो दल रहेको नेकपा माओवादीको नेतृत्वमा सरकार बन्यो । एमाले, मधेसी दलहरूको समर्थनमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्ड भएका थिए । दुई तिहाइको सरकार प्रधान सेनापति रुपमाङ्गत कटुवाल प्रकरणमा ९ महिनामै प्रचण्डले राजीनामा दिए ।

त्यसपश्चात् एमालेका नेता माधव नेपाल २०६६ सालमा प्रधानमन्त्री भए । संविधानसभा निर्वाचनमा दुईदुई ठाउँबाट पराजित भएका नेपाल कांग्रेसको समर्थनमा प्रधानमन्त्री चुनिएका थिए । तर, एमालेभित्रै उनको विषयलाई लिएर विवाद बढेपछि नेपालले राजीनामा दिए । नेपालले नेतृत्व गरेको सरकारमा माओवादी सहभागी हुन पाएन ।

नेपालले नेतृत्व गरेको सरकार ढलेपछि पुनः माओवादीले सरकारमा सहभागी हुने मौका पायो । माओवादीको समर्थनमा २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भए । खनाल नेतृत्वको सरकार ६ महिनामै ढलेपछि २०६८ सालमा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भए । २०७९ साल जेठ १४ गते संविधानसभा भङ्ग भएपछि भट्टराई पदमुक्त भएका थिए ।

त्यसपछि सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भएको थियो । संविधान सभामा पहिलो र दोस्रो ठुलो दल सरकारमा गएपछि माओवादी प्रतिपक्षमा बसेको थियो ।

२०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि माओवादीको समर्थनमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए । माओवादी अध्यक्ष प्रचण्डले समीकरण बदले र २०७३ मा कांग्रेसको समर्थनमा उनी दोस्रो पटक प्रधानमन्त्री भए । त्यतिबेला कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।

२०७४ को चुनावी सरकारको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए । सो निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावी तालमेल गरी झन्डै दुई तिहाइ बहुमत ल्याएका थिए । ०७४ फागुन ३ गते ओली माओवादीको समर्थनमा ओली दोस्रो पटक प्रधानमन्त्री भए । तर ४० महिना नपुग्दै सत्ता नेतृत्व दल नेकपा विभाजन भएपछि संविधानको धारा ७६(५) बमोजिम सर्वोच्चको परमादेश अनुसार २०७८ साल असार २९ गते देउवा प्रधानमन्त्री भए ।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि कांग्रेसलाई अलपत्र छाडेर एमालेको समर्थनमा प्रचण्ड पुनः प्रधानमन्त्री बने । यसपटक उनी तेस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

माधव नेपाल (२०६६), खिलराज रेग्मी (२०६९), सुशील कोइराला (२०७०) नेतृत्वको सरकारमा माओवादी सहभागी भएन । २०६३ देखि हालसम्म प्रचण्ड ३ पटक प्रधानमन्त्री भए । ९ वर्षपछि नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने अवस्था बनेको छ ।