नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रचण्डलाई कांग्रेसको आग्रह

तु खबर संवाददाता
२०८१ असार २०,बुधबार १६:२९
file-photo

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेको छ ।

कांग्रेस र नेकपा एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री प्रचण्डले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला कांग्रेसले आग्रह गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार, कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको मुख्य दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो ।

दुई ठुला दल र अन्य दलहरूले पनि नयाँ सत्ता समीकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकारका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी, बैठकले नयाँ सत्ता समीकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबिचको समझदारी सबै दलहरूसँग सघन छलफल गरेर मात्रै बढाउने निर्णय गरेको प्रवक्ता महतले बताए ।