अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २०,बुधबार १६:३७

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापनीस्थित अछाम होटेलबाट सोही ठाउँ बस्ने ३१ वर्षीया दीपा बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन ९ सय मिलिग्रामसहित उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१ अस्पताल लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ६० मिलिग्रामसहित प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय पवन गुप्ता रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–४ पत्रङबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ८३ क्याप्सुल, स्पास्मो प्रोक्सिभन ३ क्याप्सुल, कोलिबान १ सय ४८ ट्याब्लेट र नगद ४६ हजार ५० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय खेम राना मगरलाई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले धरान उपमहानगरपालिका–१५ देउराली पथ डेरा गरी बस्ने संखुवासभा मादी मुलखर्क घर भएका २६ वर्षीय सुरज देवानको कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ९० ट्याब्लेट, ट्रामाडोल २ हजार २ सय ८० क्याप्सुल, स्पास्मो प्रोक्सिभन १ सय ४० क्याप्सुल र गाँजा २ केजीसहित देवान र उनका साथी धरान उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय युनिसेस राईलाई गएराति पक्राउ गरेको छ ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।