मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार ०८:५५
file-photo

मकवानपुर । मकवानपुरमा गएराति जंगली च्याउ खाँदा ७ जना बिरामी भएका छन् ।

जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ उर्लाघारीस्थित जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

बिरामी हुनेहरुमा स्थानीय ६५ वर्षीया मगंली माया स्याङ्तान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुहारी ३० वर्षीया पासाङ माया स्याङ्तान, नाति ७ वर्षीय लासाङ स्याङ्तान, नातिनी १९ वर्षीया लक्ष्मी माया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान रहेका छन् ।

प्रहरीका अनुसार, च्याउ खाएर बिरामी भएका उनीहरुलाई राति नै उद्दार गरी हेटौंडा अस्पताल ल्याइएको थियो । तीमध्ये बुद्धि बहादुर, पासाङ माया, लासाङ, पार्वती र आरतीलाई थप उपचारको लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा लगिएको छ ।

बिरामी मंगली र लक्ष्मी मायाको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

पछिल्लो समय मकवानपुरमा जंगली च्याउ खाएर बिरामी हुनेको संख्या बढ्दो छ भने जंगली च्याउ खाएर असार महिनामा मात्रै तीन जनाको मृत्यु भइसकेको छ ।