सवारी अभिलेखलाई डिजिटलाइज गर्ने बागमती सरकारको तयारी

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १०:२२
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सवारी साधनको अभिलेखलाई प्रविधिमैत्री र डिजिटलाइज गर्ने तयारी गरेको जानकारी दिएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा डाटा इन्ट्रिकर्ता भर्नाका लागि दरखास्त आह्वान गरिएको छ । खुला प्रतिस्पर्धाद्वारा करारमा डाटा इन्ट्रिकर्ता भर्ना गरिनेछ ।

मन्त्रालयले १०० जना डाटा इन्ट्रिकर्ताका लागि विज्ञापन गरेको छ । साथै थप ५० जना आवश्यकता अनुसार रोष्टरमा राखिने जनाइएको छ ।

उक्त पदका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिकले अनलाईमार्फत् दर्खास्त दिन सकिने व्यवस्था गरिएको हो ।

उक्त पदका लागि यही असार २५ गतेसम्म माध्यमिक तह (१०+ २ तह) वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तीमा ३ महिना तालिम लिएका वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहमा कम्प्युटर विषय उत्तीर्ण गरेका उम्मेदवारले दर्खास्त दिन सकिनेछ ।