थाहा नगरपालिमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १६:१५

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निः शुल्क शिक्षा घोषणा गरेको हो ।

नगरको जेसीज हलमा कार्यक्रमबीच बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेकी हुन् ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको हो ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लले घोषणा सभामा शिक्षा विकास निर्देशनालय र थाहा नगरपालिकाबीच भएको सम्झौताको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य नगर भित्र रहेका विभिन्न संघसंस्थाका प्रमुख, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक संघ संगठनका प्रतिनिधिहरु, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस्तै, सभामा २५ जना आर्थिक स्थिती कमजोर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि सहयोग गरिएको थियो ।