अवैध लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १६:३८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन १ ग्राम २० मिलिग्रामसहित सोही महानगरपालिका–३ बस्ने २१ वर्षीय पदम कार्कीलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, झापाको विर्तामोड नगरपालिका–५ किरात चोकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय १० मिलिग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–१ बस्ने २१ वर्षीय आकाश बिष्ट, २७ वर्षीय टिकाराम दाहाल र २५ वर्षीय चेतन पुलामी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।