अत्यावश्यक कामबाहेक कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहको निर्देशन

तु खबर संवाददाता
२०८१ असार २२,शुक्रबार ०९:१९

काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुलाई निर्देशन दिएको छ ।

विपद्को बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो ।

सो क्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवम् सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएका छन् ।

सचिव अर्यालले विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिन निर्देशन दिए ।

साथै उनले मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे ।