७३ जिल्लामा फैलियो डेंगु संक्रमण

तु खबर संवाददाता
२०८१ असार २२,शुक्रबार ०९:३०
file-photo

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरको ७३ जिल्लामा डेंगु रोगको संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार, दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको हो ।

हालसम्म देशभरको ७७ जिल्लामध्ये ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आङ्कलन गरेको उनको भनाई छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ ।

रोग शाखाका प्रमुख डा दाहालले डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।