गौतमबुद्ध क्रिकेट रंगशालालाई बजेट रकमान्तर गर्ने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट रकमान्तर गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको उनले बताए ।
थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ ।
यस्तै, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले बताए ।
यसैगरी, बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्डमा असार २९ देखि साउन ४ गतेसम्म हुने अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृती प्रदान दिने निर्णय गरेको उनले बताए ।