६० किलो सुन प्रकरणः पक्राउ परेका १६ जनालाई थुनामा पठाउन आदेश
काठमाडौं । ६० किलो सुन प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा पठाउन आदेश दिइएको छ ।
जिल्ला अदालत काठमाडौंले बुधबार थुनछेक बहसपछि पुर्पक्षका लागि १६ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।
उनीहरुलाई केन्द्रिय कारागार सुन्धारा चलान गरिएको सीआईबीका एक जना अधिकृतले बताए ।
यस्तै, अदालतले ३ जनासँग धरौटी माग गरेको छ । धादिङ सिद्धलेक–५ घर भएका राजु थापा भन्ने प्रेमनाथ सेढाईंसँग ५७ लाख र रूपक भण्डारीसँग ९६ लाख धरौटी माग गरिएको छ ।
काभ्रेको तेमाल गाएँपालिका घर भएका कान्छा लामासँग पनि ९६ लाख धरौटी माग गरिएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ ।
दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका २० जनामध्येका सुशिल ज्याकिबन्जालाई मुद्दा नचलाउने निर्णय गरिएको थियो ।