कास्कीमा पहिरोमा परेर ११ जनाको मृत्यु
कास्की । कास्कीको विभिन्न स्थानमा गएको पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ ।
जिल्लाको पोखरा–१९, तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जना, पोखरा–३२, चैनपुरमा ३ जना र मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एक जना गरी ११ जनाको पहिरोमा परेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गएराति १० बजेर २० मिनेटपछि तल्लाकोट टारीका कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । उक्त पहिरोमा पुरिएर ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियारको मृत्यु भएको हो ।
विवाहपछि माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि पहिरोमा परेर मृत्यु भएको छ । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ ।
पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । पवन कुल बहादुरका छोरा हुन । उनी भागेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, पोखरा–३२, चैनपुरमा आरती ओझाको घर पुरिँदा उनकी छोरी १८ वर्षीय अनिता ओझा, अर्को छोरी ११ वर्षकी अनुष्का ओझा र दाइको छोरा प्रतीक सुवेदीको मृत्यु भएको छ । आरती उद्धारका क्रममा घाइते भएको र उनको उपचार भइरहेको जनाइएको छ ।
यसैगरी, मादी गाउँपालिका ११ को तल्लो ताप्लेमा ८० वर्षकी माइती कुमारी गुरुङको मृत्यु भएको छ । ५५ वर्षका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको छ ।
घटनास्थल टाढा भएको र विकटमा रहेकोले समयमा उद्धार गर्न नसकिएको कास्की प्रहरीले जनाएको छ ।