नारायणगढ–मुग्लिन सडकखण्डमा २ वटा बस पुरियो
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रुबहाक बस पुरिएको छ ।
जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको खसेको पहिरोले दुई वटा यात्रुबहाक बस बगाएर त्रिशूली नदी किनारमा खसालेको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे ३ बजेको समयमा पहिरोमा पुरिएको हो ।
पहिरोका परेर बससहित यात्रुहरु बेपत्ता छन् । प्रहरीका अनुसार, गणपति डिलक्स बसमा चालक र सहचालकसहित ३१ जना यात्रु रहेको खुल्न आएको छ ।
रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले भने हामफालेर ज्यान जोगाएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।