नापी कार्यालयका सर्वेक्षक घुस रकमसहित पक्राउ
ललितपुर । ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई पक्राउ गरेको हो । उनीहरुलाई बिहीबार घुस रकमसहित पक्राउ गरिएको हो ।
जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुलाई उक्त रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।