पाँचौँ पटक विश्वासको मत लिँदै प्रचण्ड, मतदान जारी

तु खबर संवाददाता
२०८१ असार २९,शुक्रबार १७:१२

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा –२ अनुसार विश्वासको मत लिने भएका हुन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सदस्यीय रहेको छ ।