उद्धार र राहातको कार्यलाई व्यवस्थित गर्न सभापति बानियाँको आग्रह

तु खबर संवाददाता
२०८१ असार २९,शुक्रबार १८:०३
file-photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बाढी– पहिरोलगायत विपद्को विभिन्न घटनामा परेर प्रभावित बनेका नागरिकको उद्धार र राहत कार्यमा व्यवस्थित गर्न आग्रह गरेका छन् ।

सभापति बानियाँले शुक्रबार एक विज्ञप्ती जारी गर्दै बाढी–पहिरो प्रभावित क्षेत्रमा मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारहरुले आवश्यक समन्वय र योजनाका साथ सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन् ।

सभापति बानियाँद्वारा जारी गरिएको विज्ञप्तिमा बाढी–पहिरोबाट सम्पर्कविहिनहरुको खोजी तीव्र बनाउन, पीडित परिवारलाई तत्काल राहात उपलब्ध गराउँदै घाइतेहरुलाई उपचारको व्यवस्था गरी यस प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा नागरिकले सहज जीवनयापन गर्नसक्ने व्यवस्था मिलाउन भनिएको छ ।

सभापति बानियाँले प्रदेशभित्रका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरु एवम् सम्पूर्ण सांगठानिक संरचनाका पदाधिकारीहरुलाई प्रभावित जिल्लाका सम्पूर्ण स्थानहरुमा पुगी उद्धार तथा राहातमा खटिएका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्न निर्देशन समेत दिएका छन् ।

साथै सभापति बानियाँले यस प्रकारको प्रकोपमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक परिवारजनमा समवेदना प्रकट गरेका छन् ।