मकवानपुर क्याम्पस र सीएमसी चुरेहिल अस्पतालको सम्झौता

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पस र सीएमसी चुरेहिल अस्पतालबीच क्याम्पसको विद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा छुट सम्झौता भएको छ ।
शुक्रबार भएको सम्झौतामा क्याम्पसको विद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा २० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत छुट हुने उल्लेख गरिएको छ ।
क्याम्पसको परिचयपत्र र सिफारिसको आधारमा उक्त स्वास्थ्य सुबिधा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ ।
सम्झौतापत्रमा मकवानपुर बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. यम सिलवाल र अस्पतालका अध्यक्ष प्रताप देबकोटाले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा अस्पतालले क्याम्पसमा अतिथि प्राध्यापकमार्फत् शिक्षणमा सहयोग गर्ने र विज्ञान संकायका विद्यार्थीहरुलाई अभ्यासको लागि प्रयोगशाला उपलब्ध गराउने उल्लेख गरिएको छ ।