वाटर ड्रोन र क्यामेरा प्रयोग गरेर खोज्न थाल्यो हराएका दुई बस

तु खबर संवाददाता
२०८१ असार ३०,शनिबार १०:१६

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर हराएका दुई वटा बस वाटर ड्रोन र क्यामेर प्रयोग गरेर खोज्न सुरु गरेको छ ।

शनिबार बिहानबाट सशस्त्र प्रहरी बलका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर हराएका दुई बसको खोजी सुरु गरेको हो ।

पाइपलाइन इन्फेक्सनमार्फत् सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोरसहितको टिम परिचालन गरिएको छ । नेपाली सेनाकासहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान साढे ३ बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोमा पुरिएको थियो ।

प्रहरीका अनुसार, गणपति डिलक्स बसमा चालक र सहचालकसहित ३१ जना यात्रु रहेको खुल्न आएको छ भने एन्जल डिलक्समा २४ जना यात्रु रहेको खुल्न आएको छ ।

तीमध्ये रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले भने हामफालेर ज्यान जोगाएका छन् । दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छन् ।