गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै
काठमाडौं । गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु चितवन जाँदै छन् ।
नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीको निरीक्षण गर्न उनीहरु त्यसतर्फ जान लागेका हुन् ।
गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीकार्य आज पनि जारी छ । बिहानैदेखि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरी बेपत्ता बस र यात्रुहरुको खोजीकार्य भइरहेको गृह मन्त्रालयले जानकारी दिए ।
आइतबार ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरेर बसको खोजी गर्न लागेको हो । ती दुबै बसमा गरी कम्तिमा ५० जनाभन्दा बढी यात्रुहरु अझै अज्ञात छन् । तीमध्ये तीन जनाको मात्रै शव भेटिएको छ ।
शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसलाई पहिरोमा पुरिएको थियो ।
घटना भएको तीन दिन बित्दासमेत अरु शवको अत्तोपत्तो नभएपछि घटनास्थलमा भेला भएका आफन्तहरु चिन्तित छन् । उनीहरुले खोजी कार्यप्रति असन्तोष व्यक्त गर्दै जतिसक्दो चाढो खोजीकार्य गर्न अनुरोध गरेका छन् ।
तर, सुरक्षा अधिकारीहरुले भने त्रिशूली नदीमा बाढीको बहाव तीव्र भएको र पानी निकै धमिलो भएकाले खोज्न कठिन हुने गरेको जनाएका छन् ।