सिमलताल पहिरो: पाँच जनाको शव भेटियो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परेर बेपत्ता भएकामध्ये हालसम्म पाँच जनाको शव भेटिएको छ ।
असार २८ गते शुक्रबार त्रिशूलीमा खसेका दुई वटा डिलक्स बससँगै बेपत्ता भएकामध्ये हालसम्म पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चिवतनले जनाएको छ ।
शुक्रबार काठमाडौंबाट गौरको लागि छुटेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंको लागि छुटेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसलाई पहिरोमा पुरिएको थियो ।
काठमाडौंबाट गौरको लागि छुटेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौंको लागि छुटेको बसमा २७ यात्रु रहेको अनुमान छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।
अन्य भने बेपत्ता नै भएका थिए । बेपत्तामध्ये शनिबार ३ जना आज २ जना गरी पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरु पाँचै जनाको सनाखत भइसकेको छ ।
उनीहरुको शव आफ्नले पहिचान गरेको हो । मृतक सबैलाई पोष्टमार्टमको लागि चितवनको भरतपुर अस्पतालमा राखिएको जनाइएको छ ।
बेपत्ता अन्यको खोजीकार्य जारी छ ।