मन्त्रालयको भागबण्डा टुंगियो, कस्को भागमा कुन ?

तु खबर संवाददाता
२०८१ असार ३१,आईतवार १८:५२
file-photo

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबण्डा टुङ्ग्याइएको हो ।

जसअनुसार, कांग्रेसको भागमा ९ वटा र एमालेको भागमा ८ वटा मन्त्रालय परेका छन् । कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् । त्यस्तै वन तथा वातावरण मन्त्रालय पनि कांग्रेसको भागमा परेको बुझिएको छ ।

यसैगरी, एमालेको भागमा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् । त्यसबाहेक शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ ।

बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ । साना दल जसपा, जसपा नेपाल,लोसपा, जनतम सरकारमा जाने तयारीमा छन् ।

एमाले अध्यक्ष ओलीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार शपथ ग्रहण गर्नेछन् । उनीसँगै अन्य मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने स्रोतले बताएको छ ।