नवनियुक्त प्रधानमन्त्रीले लिए शपथ, आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका हुन् ।
प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
उपप्रधान तथा सहरी विकासमन्त्रीमा प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमा विष्णु पौडेल, सञ्चार तथा सूचना मन्त्रालयमा पृथ्वीसुब्बा गुरुङ, गृहमा रमेश लेखकले जिम्मेवारी पाएका छन् ।
त्यस्तै श्रम तथा रोजगारमा शरतसिंह भण्डारी, परराष्ट्रमा आरजु राणा देउवा, महिला बालबालिकामा नवलकिशोर साह सुडी, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाल, युवा तथा खेलकुदमा तेजुलाल चौधरी, खानेपानीमा प्रदीप यादव, स्वास्थ्यमा प्रदीप पौडेल, कानून न्याय तथा संसदीय मामिलामा अजय चौरसियाले जिम्मेवारी पाएका छन् ।
पर्यटन मन्त्रालयको जिम्मेवारी बद्री पाण्डेले पाउँदा कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधिमा विद्या भट्टराई, रक्षामा मानवीर राई, जगस्रोत तथा उर्जामा दिपक खड्का, संघीय मामिला तथा सामान्यमा राजकुमार गुप्ता र वन तथा वातावरण मन्त्रालयमा ऐनबहादुर शाही ठकुरीले जिम्मेवारी पाएका छन् ।